राष्ट्रसेवक कर्मचारी तथा श्रमिकहरुको न्यूनतम तलब सुविधा पुनरावलोकन गर्न र न्यूनतम तलब सुविधामा रहेको असमानता एवं मर्यादाक्रम वमोजिम तलव सुविधा नमिलेका जस्ता विविध समस्याहरु रहेको सन्दर्भमा सोको समाधान गर्नको लागि देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी, पदाधिकारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एंव सुविधा अध्ययन र पुनरावलोकन गरी नेपाल सरकारलाई सिफारिस गर्न नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९।५।६ को निर्णय अनुसार यस उच्चस्तरीय तलव सुविधा आयोग गठन भएको हो ।
यस आयोगको देहाय बमोजिमको कार्य शर्तहरु रहेका छन् ।
- विगतमा गठन भएका तलब भत्ता पुनरावलोकन सम्बन्धी आयोग, समिति र कार्यदलबाट प्रस्तुत भएका प्रतिवेदनहरुबाट आवश्यक सूचनाहरु संकलन गरी विश्लेषण गर्ने । दक्षिण एशियाली मुलुक लगायत अन्य मुलुकहरुका राष्ट्र सेवक कर्मचारीहरुको तलव सुविधाको अध्ययन गर्ने र अर्थतन्त्रको वर्तमान अवस्थाको अध्ययन विश्लेषण गरी राष्ट्रसेवक कर्मचारीको तलब भत्ता सिफारीश गर्ने साथै श्रमिकहरुको ज्याला सम्बन्धी मापदण्ड सिफारिस गर्ने ।
- नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम बमोजिम राष्ट्रसेवक कर्मचारीहरुको तलबमान समायोजन गर्न सिफारिस गर्ने ।
- कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायतका निकायहरु तथा संवैधानिक निकायहरु समेतको जोखिम, कार्य समय, अतिरिक्त कार्य समय आदि समेतको अध्ययन विश्लेषण गरी विद्यमान सुविधा सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्न सिफारिस गर्ने ।